नेप्से २६२२ विन्दुमा झर्यो, कारोबार रकम पनि घटेर ५ अर्बमा सीमित
आज ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक १०.६३ प्रतिशत घटेको छ ।
काठमाडौँ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से १९.३४ अंक घटेर २६२२.४८ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ ।
नेप्से सँगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ५२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । आज पनि सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक १०.६३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज एग्रिकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको ५० करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १।४० प्रतिशत घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक बढेको छ । मंगलबार कारोबार आएका मध्य ५७ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर छ ।
