किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार श्रेष्ठलाई बिहान १० बजे जफत गरिएका सामग्रीसहित सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भए पनि प्रहरीले उनलाई पहिले जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थपको अनुमति लिएको हो ।
जिल्ला अदालतबाट थप चार दिनको म्याद लिएपछि प्रहरीले श्रेष्ठलाई बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अब सर्वोच्च अदालतले उनको थुनाको औचित्यबारे सुनुवाइ गर्दै आवश्यक आदेश दिनेछ ।
प्रहरीले श्रेष्ठलाई गत २७ गते बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको जनाएको छ ।
