नेपाल एयरलाइन्सका दुई कर्मचारी ५० हजार डलरसहित पक्राउ

विज्ञापन
ncell

काठमाडौं । नेपाल एयरलाइन्सका दुई कर्मचारी अमेरिकी डलरसहित मलेसिया जान लागेको क्रममा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निगमको फाइनान्स विभागका वरिष्ठ अधिकृत ममता पाण्डे र अधिकृत जननी बज्राचार्य रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू बिदा मनाउन मलेसिया जाने तयारीमा रहेका बेला तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको अवस्थामा पक्राउ परेका हुन् ।उनीहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता देवेन्द्र पुनका अनुसार दुवै कर्मचारी बिदा लिएर विदेश घुम्न जान लागेका थिए । उनीहरूको साथबाट प्रतिव्यक्ति बोक्न पाउने सीमाभन्दा करिब २ हजार ५ सय डलर बढी रकम भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।  उनीहरूबाट बरामद भएको रकम गणना गर्ने काम भइरहेको र त्यसपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाल आउने वा नेपालबाट बाहिर जाने यात्रुले नगद विदेशी मुद्रा अधिकतम ५ हजार अमेरिकी डलरसम्म ल्याउन वा लैजान पाउने व्यवस्था छ । विदेशी विनिमय ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत यस्तो व्यवस्था गरिएको हो ।