भारतका प्रधानसेनापति धीरज सेठ नेपाल भ्रमणमा आउँदै
सन् १९५० देखि सुरु भएको दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी दिने परम्परा आज पनि निरन्तर छ ।
काठमाडौं । भारतका प्रधानसेनापति धीरज सेठ प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा आज नेपाल आउँदैछन् । भारतका प्रधानसेनापतिलाई राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।
भ्रमणका क्रममा नेपाल र भारतका प्रधानसेनापतिबीच द्विपक्षीय वार्ता पनि हुनेछ । नेपाल-भारतबीचको सैन्य सम्बन्ध निकै पुरानो, घनिष्ठ र ऐतिहासिक रहँदै आएको छ । दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ ।
सन् १९५० देखि सुरु भएको दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी दिने परम्परा आज पनि निरन्तर छ । यो परम्परा नेपाल-भारतबीचको आपसी मित्रता, सम्मान र विशेष सम्बन्धको महत्वपूर्ण प्रतीकका रूपमा रहँदै आएको छ ।
