एक वर्षमा वाणिज्य बैंकहरुले कमाए करिव ७० अर्ब रुपैयाँ, कुन बैंकको अवस्था कस्तो ?
हिमालयन र एनआईसी एसियाले नाफामा चमात्कारिक बृद्धि गर्दा प्रभू बैंक भने घाटामा
गत असारमा काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रमा बढेको घरजग्गाको कारोबार, ब्याज अशुलीका लागि राष्ट्र बैंकले दिएको १५ दिनको अतिरिक्त समय र कतिपय अवस्थामा बैंकहरुले खराब ऋण उठाउन नयाँ ऋण दिने प्रयासका कारण बैंकहरुको समग्र चित्रमा सुखद देखिएको हो ।
काठमाडौं । गत आर्थिक वर्ष २०८२र८३ मा वाणिज्य बैंकहरूले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन नाफा अघिल्लो आर्थिक वर्ष २०८१र८२ को ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँको तुलामा ३२.२७ प्रतिशत अर्थात् १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले बढी हो ।
सबै बैंकहरुले गत वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेसँगै उनीहरुको वित्तीय अवस्था सतहमा आएको हो । समग्रमा नाफा बढेपनि सबै बैंकको अवस्था एउटै छैन । गत असारमा काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रमा बढेको घरजग्गाको कारोबार, ब्याज अशुलीका लागि राष्ट्र बैंकले दिएको १५ दिनको अतिरिक्त समय र कतिपय अवस्थामा बैंकहरुले खराब ऋण उठाउन नयाँ ऋण दिने प्रयासका कारण बैंकहरुको समग्र चित्रमा सुखद देखिएको हो । कुनै बैंकले राम्रो कमाई गरिरहँदा केही बैंकहरुको अवस्था भने खस्किएको छ । हाल मुलुकमा २० वाणिज्य बैंकहरू सञ्चालनमा छन् ।
नाफाको आकारमा नबिल बैंक सबैभन्दा अगाडी देखिएको छ । नबिलले गत वर्ष ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष भने नबिलले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा नबिलको नाफा साढे ३३ प्रतिशतले बढेको छ ।
यसपटक नबिललाई कुमारी बैंकले पछ्याएको छ । यसपटक कुमारी बैंक सबैभन्दा धेरै नाफा बढाउने बैंकहरुमध्ये दोस्रोमा परेको छ । कुमारीको नाफा अघिल्लो वर्षको १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँको तुलनामा ३०५.९६ प्रतिशतले बढाएर गत वर्ष ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ ।
बढी नाफा कमाउने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक छ । ग्लोबल आईएमईले अघिल्लो वर्षको ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँमा २२.६७ प्रतिशतले नाफा बढाउँदै ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ ।
उता, चौथो सूचीमा रहेको एभरेस्ट बैंकले गत वर्ष ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको नाफा ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँको तुलनााम ४.७५ प्रतिशत मात्र बढी हो ।
बढी नाफा गर्नेमा एभरेस्टलाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पछ्याएको छ । गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको नाफा २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी हो ।
राष्ट्रिय वाणिज्य बैंकलाई भने नेपाल बैंकले पछ्याएको छ । नेपाल बैंकले गत वर्ष ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७ करोड रुपैयाँको तुलनामा ४६.२० प्रतिशतले धेरै हो ।
नेपाल बैंकलाई प्राईम कमर्सियल बैंकले पछ्याएको छ । प्राईमले गत वर्ष ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँको तुलनामा २८.४९ प्रतिशतले बढी हो ।
प्राईमलाई पछ्याएको एनएमबी बैंकले आफ्नो नाफा गत वर्ष ४०.६० प्रतिशत बढाएको छ । अघिल्लो वर्ष २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ नाफा गरेको एनएमबीले गत वर्ष ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ नाफा गरेको छ ।
सिद्धार्थ बैंकले गत वर्ष ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको नाफा ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँको तुलनामा ४.५४ प्रतिशत बढी हो ।
गत वर्ष लक्ष्मी सनराईज बैंकले ३ अर्ब ११ करोड ७१ लाख ३१ हजार रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो वर्षको ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँको तुलनामा २३.२६ प्रतिशतले थोरै हो ।
स्ट्याण्डर्ड र्चार्ड बैंकले समीक्षा अवधिमा २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँको तुलनामा ५.३८ प्रतिशतले थोरै हो ।
सानिमा बैंकले गत आर्थिक वर्ष २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ नाफा गरेको छ । जुन नाफा अघिल्लो वर्षको २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँको तुलनामा ३४.६६ प्रतिशतले बढी हो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँको तुलनामा ३६.५८ प्रतिशतले थोरै हो ।
कृषि बिकास बैंकले गत वर्ष २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँको तुलनामा २९.५२ प्रतिशतले थोरै हो ।
माछापुच्छ्रे बैंकले गत वर्ष २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ नाफा गरेको छ । जुन नाफा अघिल्लो वर्षको १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँको तुलनामा १२.२४ प्रतिशत बढी हो ।
सिटिजन्स बैंक इन्टरनेसनलको गत वर्ष ६३.०५ प्रतिशतले नाफा बढाएको छ । सिटिजन्सले अघिल्लो वर्ष १ अर्ब २८ करोड ७० लाख ७५ हजार रुपैयाँ नाफा कमाएकोमा गत वर्ष भने बढाएर २ अर्ब ९ करोड ८६ लाख ३ हजार रुपैयाँ पुर्याएको छ ।
उता, नेपाल एसबीआई बैंकले गत वर्ष २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ नाफा गरेको नेपाल एसबीआईले नाफा १२.८९ प्रतिशतले बढाएको हो ।
वृद्धिदरको हिसाबले हिमालयन बैंकको पारी चकित बनाउने खालको छ । हिमालयनले गत वर्ष १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन नाफा गत वर्षको १२ करोड ९७ लाख २६ हजार रुपैयाँको तुलनामा १०४१.१६ प्रतिशतले बढी हो ।
एनआईसी एशिया बैंकले गत वर्ष १८ करोड १७ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले एक वर्षको अवधिमा नाफामा चमत्कारै गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंक ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ नोक्सानीमा थियो ।
प्रकाशित वित्तीय विवरण अनुसार गत वर्ष प्रभू बैंक मात्र नोक्सानीमा गएको छ । अघिल्लो वर्ष ८७ करोड २३ लाख २६ हजार रुपैयाँ नाफामा रहेको प्रभू बैंक गत वर्ष भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा गएको छ ।
