विगतका विद्वेष बिर्सेर मेलमिलापको बाटोमा अघि बढ्न देउवाको आग्रह
देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशालाई तत्काल समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो स्वास्थ्य उपचारपछि नेपाल फर्किएलगत्तै पार्टी, सरकार र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले परिवर्तनको ठूलो आकांक्षा देखिएको भन्दै जनताको अपेक्षालाई सम्बोधन गर्नु वर्तमान सरकारको मुख्य दायित्व भएको बताएका छन् ।
देउवाले झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि आफू पुनः नेपाल फर्किएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले आफू ‘विनम्र सेवक’का रूपमा सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन फर्किएको बताएका छन् । उनले पछिल्लो समय देखिएको परिवर्तनको चाहनालाई नेपाली कांग्रेसले आत्मसात् गरेको दाबी गर्दै युवा पुस्ताको आवाज र पीडा आफूले बुझेको बताएका छन् । विश्व बदलिएको र नेपाल पनि समयको गतिसँगै अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले समाजका सबै वर्ग, समुदाय र पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले कांग्रेसभित्र देखिएको असहमति र निराशालाई तत्काल समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई सामूहिकतामा विश्वास गर्दै सबैको त्याग, बलिदान र संघर्षलाई स्वीकार गरेर अघि बढ्न उनले अपिल गरेका छन् । देउवाले कांग्रेसले अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गर्दै राष्ट्रियता तथा लोकतन्त्रको सुदृढीकरणमा भूमिका खेल्नुपर्ने बताएका छन् । वर्तमान संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै यसको संरक्षण तथा आवश्यक संशोधन पनि राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने उनको धारणा छ । उनले आफूले विगतमा विभिन्न राजनीतिक विवाद र जटिल परिस्थितिमा मिलाप गराउने भूमिका निर्वाह गरेको स्मरण गर्दै आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन् । साथै कांग्रेस आत्मसमीक्षा र मार्ग सुधारका लागि प्रतिबद्ध रहेको र कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवाले राजनीतिक परिवर्तनको बाटो सहज नहुने भन्दै धैर्य, साहस र दृढताको आवश्यकता रहेको बताए ।
उनले भनेका छन्, 'परिवर्तनको ठूलो आकांक्षा देखिएको वर्तमान अवस्थामा त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी सरकारको हो र राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर जनताको अपेक्षा पूरा गर्न अघि बढ्नुपर्छ ।' आफू सत्ता प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको देउवाको भनाइ छ। उनले विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् आफ्नो सार्वजनिक जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गर्दै देउवाले आफ्नो जीवन ‘खुला किताब’ भएको बताएका छन्। जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संविधान, कानुन र नैतिक मूल्य-मान्यताअनुसार काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। अन्त्यमा देउवाले आफू नेता बनेर मात्र नभई ‘यस महान राष्ट्रको आजीवन नागरिक बनेर विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न’ नेपाल फर्किएको बताएका छन्।