परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे

विज्ञापन
ncell

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल र सरोकारवालाहरूको साझा दृष्टिकोण हुनुपर्ने बताएका छन् । नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पाण्डेले परराष्ट्र मामिलामा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले सबै राजनीतिक दल र कूटनीतिका अध्येताहरूलाई एउटै मञ्चमा राखेर मुलुकको निश्चित परराष्ट्र नीति तय गर्नुपर्ने प्रस्ताव गरे ।

नेपालमा परराष्ट्र नीतिका बारेमा जनस्तरमा व्यापक चर्चा हुने गरे पनि यसका प्राविधिक पक्ष र कार्यविधि (मोडालिटी) बारे बुझाइको कमी रहेको उनको भनाइ छ । परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान ९आईएफए० लाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए । यसअघि परराष्ट्र मामिलाका सम्बन्धमा विभिन्न समितिहरू गठन गरी सुधारका प्रयास गरिएको स्मरण गर्दै उनले कुटनीतिक नियुक्तिहरूलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने उल्लेख गरे । 

राजदुत नियुक्ति गर्दा सम्बन्धित मुलुकको संस्कृति, राजनीतिक प्रणाली, मूल्य मान्यता, अर्थतन्त्र र सो देशको वैदेशिक सम्बन्धका बारेमा नियुक्त हुने व्यक्तिलाई पूर्ण ज्ञान हुनुपर्ने पाण्डेको तर्क छ । आर्थिक कुटनीति र अन्य कुटनीतिक भुमिकाहरूलाई प्रभावकारी बनाउन योग्य र विषयविज्ञ व्यक्तिको चयन अनिवार्य रहेको उनले बताए ।