मार्जिन कारोबारको अनुमति पाएका ४९ मध्ये तीन ब्रोकरले मात्रै सुरू गरे सेवा, अन्यको किन रोकियो?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट मार्जिन कारोबार सञ्चालनको अनुमति पाएका ४९ ब्रोकर कम्पनीमध्ये हाल तीनवटाले मात्रै सेवा सञ्चालन गरिरहेका छन् । आवश्यक स्रोत व्यवस्थापन, बैंक तथा वित्तीय संस्थासँगको सहकार्य र कमजोर बजार मनोविज्ञानका कारण अनुमति पाए पनि अधिकांश ब्रोकर कम्पनीले सेवा सञ्चालन गर्न सकेका छैनन् ।
नेप्सेका अनुसार हाल नासा सेक्युरिटिज (ब्रोकर नं. ५८), इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) र दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ९ब्रोकर नं। ३३० ले मार्जिन कारोबार सुविधा उपलब्ध गराइरहेका छन् । यस्तै, थप १२ ब्रोकर कम्पनीले सेवा सञ्चालनका लागि आशयपत्र प्राप्त गरिसकेका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११८ बमोजिम ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरी गत फागुन १ गतेदेखि यो व्यवस्था लागू गरेको हो । बोर्डले मार्जिन कारोबारलाई थप व्यवस्थित बनाउन छुट्टै नियमावली ल्याउने तयारीसमेत गरेको छ ।
निर्देशिकाअनुसार मार्जिन कारोबारका लागि योग्य हुन कुनै कम्पनीको कम्तीमा २५ लाख कित्ता सेयर सूचीकृत भएको हुनुपर्नेछ । त्यस्तै, कम्पनीको खुद सम्पत्ति चुक्तापुँजी बराबर वा सोभन्दा बढी हुनुपर्ने र पछिल्ला तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष नाफामा रहेको हुनुपर्ने व्यवस्था छ । प्राथमिक सेयर निष्कासनपछि सूचीकृत भएको कम्तीमा दुई वर्ष पूरा भएको कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था गरिएको छ ।
मार्जिन कारोबार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको चुक्तापुँजी कम्तीमा २० करोड रुपैयाँ हुनुपर्ने, राफसाफ सदस्यता तथा निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ । नेप्सेका अनुसार हालसम्म २०६ जना लगानीकर्ताले मार्जिन कारोबार सुविधा प्रयोग गरिरहेका छन् । यस सुविधाअन्तर्गत लगानीकर्ताले ब्रोकर कम्पनीमार्फत ऋण लिएर सेयर खरिद गर्न सक्नेछन् ।
इम्पेरियल सेक्युरिटिजका सहायक प्रबन्ध निर्देशक सिताराम अधिकारीका अनुसार अनुमति पाए पनि अधिकांश ब्रोकर कम्पनीले सेवा सञ्चालन गर्न नसक्नुको मुख्य कारण आवश्यक स्रोत व्यवस्थापन हो । मार्जिन कारोबार सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर रकम जुटाउनुपर्ने भए पनि बैंकहरूले नयाँ वित्तीय सेवाका रूपमा लिँदै विभिन्न सर्त राख्ने गरेका कारण आवश्यक रकम जुटाउन कठिन भइरहेको उनको भनाइ छ ।
उनका अनुसार केही बैंकले अतिरिक्त धितो माग्ने, केहीले संस्थागत जमानत खोज्ने तथा दैनिक कारोबारको अवस्थाका आधारमा रकम उपलब्ध गराउने निर्णय गर्ने गरेका छन् । यसले गर्दा ब्रोकर कम्पनीलाई मार्जिन कारोबार विस्तार गर्न कठिन भइरहेको छ ।
बजारको वर्तमान अवस्थाले पनि मार्जिन कारोबार विस्तारमा असर पारेको अधिकारीको भनाइ छ । उनका अनुसार अहिले धेरै लगानीकर्ता छोटो अवधिको कारोबारमा केन्द्रित छन् भने मार्जिन कारोबार तुलनात्मक रूपमा दीर्घकालीन लगानीलाई लक्षित गर्ने सुविधा हो । लगातार घट्दो बजारका कारण लगानीकर्ताको आत्मविश्वास कमजोर हुँदा नयाँ सेवाप्रति अपेक्षित आकर्षण देखिन नसकेको उनले बताए ।
इम्पेरियल सेक्युरिटिजले भने मार्जिन कारोबार सेवा सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार हालसम्म करिब एक करोड रुपैयाँ बराबरको मार्जिन सुविधा उपलब्ध गराइसकिएको छ । कम्पनीका २५–२६ जना ग्राहकले हाल यो सुविधा प्रयोग गरिरहेका छन् । सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुन थालेसँगै बजारमा सकारात्मक वातावरण बन्ने र त्यसले मार्जिन कारोबारप्रति लगानीकर्ताको आकर्षण बढाउने अपेक्षा अधिकारीले व्यक्त गरे ।
यसैबीच, ब्रोकर नं. ८५ अन्तर्गत सञ्चालित क्यापिटल हब सेक्युरिटिजले पनि निकट भविष्यमै मार्जिन कारोबार सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । कम्पनीका अध्यक्ष उपेन्द्र सिग्देलका अनुसार सेवा सञ्चालनका लागि विभिन्न बैंकसँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ ।
“हामी भर्खरै आएका हौँ । बैंकहरूसँग सहकार्यका विषयमा छलफल भइरहेको छ । बैंकमार्फत रकम जुटाएर सेवा सञ्चालन गर्ने योजना छ,” उनले भने ।
उनका अनुसार सेवा सञ्चालनका लागि आवश्यक प्रविधि तथा अन्य व्यवस्थापनको काम अघि बढिरहेको छ । आगामी १० देखि १५ दिनभित्र सेवा सञ्चालनका विषयमा थप स्पष्टता आउने उनले बताए ।
नेपालको पुँजी बजारमा नयाँ वित्तीय सेवाका रूपमा सुरु गरिएको मार्जिन कारोबार विस्तार भने अपेक्षित गतिमा हुन सकेको छैन । ब्रोकर कम्पनीलाई बैंक तथा वित्तीय संस्थाबाट स्रोत जुटाउन देखिएको कठिनाइ, कमजोर बजार अवस्था र लगानीकर्ताको सतर्क मनोविज्ञान यसको विस्तारमा मुख्य अवरोध बनेका छन् । बजारमा सुधार आएसँगै मार्जिन कारोबारको प्रयोग पनि बढ्ने अपेक्षा गरिएको छ ।
