नेपाल एसबिआई बैंकको नाफा १२.८९ प्रतिशत बढ्यो, लाभांश क्षमता ११ प्रतिशत
बैंकको नाफा बढे पनि खर्चको ग्राफ भने उकालो लागेको छ। बैंकको कर्मचारी खर्च १०.१६ प्रतिशतले बढेर २ अर्ब १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य सञ्चालन खर्च पनि ४.१० प्रतिशतले वृद्धि भई ७९ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । खर्च बढेपनि आम्दानीका अन्य स्रोतहरू बलियो हुँदा नाफामा नकारात्मक असर परेन ।
काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि र ‘इम्पेयरमेन्ट चार्ज’ (कर्जा नोक्सानी व्यवस्था) मा आएको कमी मुख्य कारक रहेका छन् । खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १.३० प्रतिशतले बढेको छ ।
अघिल्लो आ. ब. मा ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । निक्षेपमा उच्च वृद्धि भएर अधिक तरलताको अवस्था भएपनि ब्याज खर्चमा आएको गिरावट र कर्जा परिचालनमा आएको वृद्धिका कारण बैंकको खुद ब्याज आम्दानीमा स्थिरता देखिएको हो । बैंकले गैह्र-ब्याज आम्दानीको महत्वपूर्ण हिस्सा मानिने खुद फि तथा कमिसन आम्दानी ७.१२ प्रतिशतले बढेको छ । अघिल्लो आबमा १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ३० करोड २७ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा वृद्धि भएपनि मुख्य व्यवसाय (ब्याज र कमिसन) बाट हुने आम्दानी बलियो रहेकाले बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
बैंकको नाफा बढे पनि खर्चको ग्राफ भने उकालो लागेको छ। बैंकको कर्मचारी खर्च १०.१६ प्रतिशतले बढेर २ अर्ब १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य सञ्चालन खर्च पनि ४.१० प्रतिशतले वृद्धि भई ७९ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । खर्च बढेपनि आम्दानीका अन्य स्रोतहरू बलियो हुँदा नाफामा नकारात्मक असर परेन ।
बैंकको व्यवसाय विस्तार औसत देखिएको छ । बैंकको निक्षेप संकलन ६.६२ प्रतिशतले बढेर २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह ८.२३ प्रतिशतले वृद्धि भएर १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७१.१६ प्रतिशत रहेको छ ।
बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्ष ३.३५ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर २.९२ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जा घट्दापनि बैंकले करिब १ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ । जसले निष्क्रिय कर्जामा कर्जा नोक्सानी व्यवस्था अनुपात १४५.७४ प्रतिशत पुगेको छ ।
बैंकको कोषको लागत ५.१८ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा झरेको छ । बैंकको आधार दर पनि ६.२९ प्रतिशतबाट ५.२१ प्रतिशतमा झरेको छ । बैंकको ब्याजदर अन्तर स्प्रेड दर ३.५२ प्रतिशतबाट घटेर ३.२१ प्रतिशतमा झरेको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ । ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको लाभांश क्षमता ११.०४ प्रतिशत छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९८ पैसाबाट बढेर १८ रुपैयाँ ०४ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा, पीई रेसियो २१.७७ गुणा र पूँजी कोष अनुपात १३.७४ प्रतिशत छ ।
