सवारी लाईसेन्सको फारम भर्दा नै राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर चाहिने
नागरिक एपबाटै ‘अटो फिल’, सातै प्रदेशमा छुट्टाछुट्टै वेबसाइट
यातायात व्यवस्था विभागले २०८३ साउन १ गते देखि लागु हुने गरि लाइसेन्सको नयाँ फारम भर्न र विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरेको हो ।
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को फारम भर्दा नै राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य गरेको छ ।
यातायात व्यवस्था विभागले २०८३ साउन १ गते देखि लागु हुने गरि लाइसेन्सको नयाँ फारम भर्न र विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरेको हो । यद्यपी साउन १ गतेदेखि करिब ३ साता यातायात सम्बन्धी सबै सेवा अवरुद्ध थियो ।
विभागले भने यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न र नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन सर्भर अपग्रेड र नयाँ प्रणाली लागु गर्ने सन्दर्भमा सिस्टम डाउन भएर देशभरका यातायात कार्यालयमा सेवा रोकिएको जनाएको छ ।
विभागले सूचनामार्फत पछिल्लो समय यातायात सम्वन्धि सबै सवा सञ्चालनमा आईसकेको जानकारी दिएको छ ।
विभागका अनुसार नयाँ अनलाइन प्रणालीलाई नागरिक एप, राष्ट्रिय परिचयपत्र तथा मोबाइल फोन सेवा प्रदायकको प्रणालीसँग एकीकृत गरिएको छ । अबदेखि नागरिक एपमार्फत सेवाग्राहीको विवरण स्वतः भरिने व्यवस्था मिलाइएको दाबी विभागले गरेको छ । त्यसैगरी, विभागले भविष्यमा मुलुक बाहिरबाट समेत यातायात सम्बन्धी सेवा लिने सेवाग्राहीलाई सहज बनाउन इमेलमै ओटीपी प्राप्त गर्न सकिने सुविधा थपेको जनाएको छ । त्यसका लागि सेवाग्राहीले आफ्नो विवरण अद्यावधिक गर्दा वा नयाँ आवेदन दिँदा राष्ट्रिय परिचयपत्र नम्बर, आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र इमेल अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेको छ । विभागले सेवाग्राहीको भिड अत्यधिक भएकाले यातायात कार्यालयहरूले आन्तरिक व्यवस्थापनका लागि पहिला नवीकरणको काम सक्ने र नयाँको लिने भनेर काम गरिरहेको जानकारी दिएको छ ।
सातै प्रदेशमा छुट्टाछुट्टै वेबसाइट
नयाँ प्रणाली कार्यान्वयनसँगै विभागले प्रदेश अनुसार अनलाइन फारम भर्न छुट्टाछुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले अब आफूलाई पायक पर्ने प्रदेशको लिंकमा गएर फारम भर्न सक्नेछन् ।
कोशी प्रदेश : edlvrs.koshi.gov.np
मधेश प्रदेशः edlvrs.madhesh.gov.np
बागमती प्रदेशः edlvrs.bagamati.gov.np
गण्डकी प्रदेशः edlvrs.gandaki.gov.np
लुम्बिनी प्रदेशः edlvrs.lumbini.gov.np
कर्णाली प्रदेशः edlvrs.karnali.gov.np
सुदूरपश्चिम प्रदेशः edlvrs.sudurpashchim.gov.np
