इक्राले सार्वजनिक गर्यो वाणिज्य बैंकहरूको रेटिङ, स्ट्यान्डर्ड चार्टर्डले ‘त्रिपल ए’ पाउँदा कुमारी र प्रभुलाई ‘बीबी प्लस’
घट्दो माग, आम्दानीमा आएको कमी र ऋणको बोझ घटाउनुपर्ने दबाबले ऋणीको कर्जा भुक्तानी क्षमतामा असर परेको र कार्यशील पुँजीसम्बन्धी मार्गदर्शनको कार्यान्वयनले कतिपय ऋणीलाई कर्जा घटाउनुपर्ने दबाब सिर्जना गरेको इक्राको ठम्याई छ । यद्यपी, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज रहँदा नयाँ जोखिम थपिने गति कम हुँदै जाने अपेक्षा इक्राको छ ।
काठमाडौ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका वाणिज्य बैंकहरूको साख निर्धारण (क्रेडिट रेटिङ) सार्वजनिक गरेको छ । इक्राले आफूले (क्रेडिट रेटिङ गराएका १३ बैंकहरुको अवस्था विश्लेषण गरेको हो । हाल नेपालमा २० वटा वाणिज्य बैंक सञ्चालमा छन् ।
इक्राले अन्य एजेन्सीबाट क्रेडिट रेटिङ गराएका बैंकहरूको रेटिङ यो सूचीमा समावेश नगरिएको उल्लेख छ । इक्रा नेपालले आर्थिक वर्ष २०७९ देखि २०८३ सम्म गरेको साख मूल्याङ्कनअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक लगातार उच्च स्थानमा रहँदा कुमारी र प्रभूले सबैभन्दा कमजोर रेटिङ पाएका छन् । त्रिपल ए मूल्याङ्कनले बैंकको कर्जा जोखिम अत्यन्त न्यून रहेको र वित्तीय दायित्व पूरा गर्ने क्षमता बलियो रहेको संकेत गर्छ । यद्यपी बैंकको समग्र वित्तीय अवस्था मूल्याङ्कन गर्दा साख मूल्याङ्कनसँगै खराब कर्जा, पुँजी पर्याप्तता, नाफा, तरलता र कर्जा गुणस्तरजस्ता अन्य सूचकसमेत हेर्नुपर्नेमा इक्राले जोड दिएको छ ।
स्ट्यान्डर्ड चार्टर्डले लगातार उच्चतम ‘त्रिपल ए’ साख मूल्याङ्कन पाउँदा नेपाल एसबीआई बैंक पछिल्ला तीन वर्षदेखि दोस्रो उच्च ‘डबल ए’ श्रेणी स्थिर राखेको छ । त्यसैगरि नबिल बैंक र नेपाल बैंकले ‘ए’ श्रेणी कायम गर्दा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले ‘ए माइनस’ श्रेणी कायम गरेका छन् । त्यस्तै, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक ‘बीबीबी प्लस’ श्रेणीमा रहँदा सिटिजन्स बैंक र लक्ष्मी सनराइज बैंक भने ‘बीबीबी’ श्रेणीमा छन् ।
उता, कुमारी बैंक र प्रभु बैंक ‘डबल बी प्लस’ श्रेणीमा छन् । यो श्रेणीमा रहेका बैंकको साख उच्च श्रेणीमा रहेका बैंकको तुलनामा बढी जोखिमयुक्त मानिन्छ । पछिल्लो पाँच वर्षको विवरण हेर्दा केही बैंकको साख मूल्याङ्कनमा परिवर्तन देखिन्छ । केही बैंकले भने मूल्याङ्कन फिर्ता गराएका छन् ।
इक्रा नेपालका अनुसार एभरेष्ट बैंक, सानिमा बैंक र कृषि विकास बैंकले साख मूल्याङ्कन फिर्ता गराएका छन् । त्यसैले यी बैंकलाई इक्राको हालको अद्यावधिक सूचीका बैंकसँग प्रत्यक्ष तुलना गर्न मिल्दैन ।
पछिल्लो समय बैंकिङ क्षेत्रका ऋणीमा तरलताको दबाब, कर्जा विस्तारमा सुस्तता र सम्पत्तिको गुणस्तरमा देखिएको चुनौतीले बैंकहरूको साखमा प्रभाव परिरहेको इक्राले जनाएको छ । घट्दो माग, आम्दानीमा आएको कमी र ऋणको बोझ घटाउनुपर्ने दबाबले ऋणीको कर्जा भुक्तानी क्षमतामा असर परेको र कार्यशील पुँजीसम्बन्धी मार्गदर्शनको कार्यान्वयनले कतिपय ऋणीलाई कर्जा घटाउनुपर्ने दबाब सिर्जना गरेको इक्राको ठम्याई छ । यद्यपी, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज रहँदा नयाँ जोखिम थपिने गति कम हुँदै जाने अपेक्षा इक्राको छ ।
