नेप्सेले दियो गिरावटलाई निरन्तरता, ३ अर्ब ६७ करोडको कारोबार
आज ३ अर्ब ६७ करोड ४४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशत बढेको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०४ अंकले घटेर २६४१.०५ को विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ६७ करोड ४४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशत बढेको छ । त्यस्तै, दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य ६ प्रतिशत बढेको छ । कारोबारमा आएको रिलायबल समृद्धि योजना २ को इकाईमूल्य सर्वाधिक ९.७० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ कराड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको करिब ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ ।
सोमबार ८२ कम्पनीको सेयर मूल्य घट्दा १८० कम्पनीको मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य स्थिर छ ।
