कृषि विकास बैंककाे नाफा २९.२१ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

विज्ञापन
ncell

बैंकले असार मसान्तसम्म ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको तुलनामा ३.४५ प्रतिशत कम हो ।

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा तथा लाभांश क्षमतामा केही गिरावट आए पनि असुली र तरलताका प्रमुख सूचकहरू स्थिर रहेका छन् । समीक्षा अवधिमा बैंकको खुद नाफा २९.५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले असार मसान्तसम्म ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको तुलनामा ३.४५ प्रतिशत कम हो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्ष ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको थियो । बैंकको कर्जा नोक्सानी व्यवस्था अघिल्लो वर्ष ६३ करोड ७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्ष २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ थियो । सञ्चित नाफा तथा नगद लाभांश भुक्तानी समायोजन पश्चात् गत असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ कायम भएको छ । जस अनुसार साधारण सेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ६ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

बैंकको कुल चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ, जसमा साधारण शेयर पूँजी १४ अर्ब ३० करोड र अग्रधिकार सेयर पूँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। जगेडा तथा सञ्चित नाफा गरी बैंकको कुल इक्विटी ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

बैंकले ग्राहकहरूबाट ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ खर्ब ९३ अर्ब ५८ करोड रुपैयाँको तुलनामा १८.३६ प्रतिशतले बढेको हो। त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ खर्ब १२ अर्ब ६७ करोड रुपैयाँभन्दा १६.२४ प्रतिशतले बढी हो । यस्तै बैंकको प्रतिसेयर आम्दानी १६।११ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३१.७१ रुपैयाँ रहेको छ ।