परीक्षा उत्तीर्ण गरेर कोरिया जान नपाएको युवाहरूको पीडा सरकारले सुन्नुपर्छ: सांसद भण्डारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद वदन भण्डारीले भाषा परीक्षा उत्तिर्ण गरेर पनि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया रोजगारीमा जान नपाएको युवाहरुको पीडा सरकारले सुन्नुपर्ने बताएका छन् । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा यस्तो बताएका हुन् ।
उनले रोजगारीको लागी कोरिया पठाउने प्रक्रियामा ‘सेटिङ’ र अनियमितता भएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न सरकारसंग माग गरे । उनले ईपीएस प्रक्रियामा मन्त्रालयका एक उपसचिव, म्यानपावर कम्पनी तथा दोभासेको भूमिकामाथि प्रश्न उठेको बताए । प्रश्न उठिसकेपछि अनुसन्धान गरेर निचोडमा पुग्नुपर्ने उनको भनाई छ । मन्त्रीले कुनै गल्ती भेटिन्न भनेर ढाकछोप गर्न नमिल्ने बताए ।
कोरियन भाषा परीक्षा पास गर्नु मात्र कोरिया जान पाउने सुनिश्चितता नभए पनि रोस्टरमा रहेका योग्य उम्मेदवारलाई रोजगारदातासम्म पुग्ने प्रक्रियामै हस्तक्षेप गरी केही व्यक्तिलाई ‘सेटिङ’का आधारमा अवसर दिलाउनु गम्भिर अपराध भएको उनको भनाई छ ।
भण्डारीले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि लामो समयदेखि रोजगारीको प्रतीक्षामा रहेका युवाहरूलाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले ईपीएससँग सम्बन्धित सबै निकायलाई समितिमा उपस्थित गराई पीडित र सम्बन्धित पक्षबीच प्रत्यक्ष छलफल गराउन पनि आग्रह गरे ।
उनले मन्त्रालय मातहतका प्रमुख निकायका प्रतिनिधि समितिको बैठकमा अनुपस्थित रहेकोमा पनि प्रश्न उठाए । समितिको बैठकमा बैदेशिक रोजगार विभाग, बोर्ड लगायतका कुनै पनि संस्थाको प्रमुखहरु सहभागी थिएनन् । समिति सभापति रहबर अन्सारीले सम्बन्धित पक्षलाई बोलाएको भएपनि नआएको बताए ।
