अधिकांश श्रमिकहरू रोजगार सम्झौता नै नपढी विदेश जाने गरेको देखियोः सांसद थेबे
उनले श्रमिकहरूलाई सम्झौताका आधारभूत विषयहरु राम्रोसँग बुझाएर मात्रै रोजगारीको लागी पठाउनुपर्ने बताए।
काठमाडौं । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रभावकारी रूपमा अभिमुखीकरण गर्नुपर्ने आवश्यक्ता देखिएको बताएका छन्। बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उनले श्रमिकहरू रोजगार सम्झौता (एग्रिमेन्ट) नै नपढी विदेश पुग्ने अवस्था रहेको बताएका छन् ।
उनले श्रमिकहरूलाई सम्झौताका आधारभूत विषयहरु राम्रोसँग बुझाएर मात्रै रोजगारीको लागी पठाउनुपर्ने बताए। उनले भिजिट भिसामा श्रमको लागी मानिसहरु गएर अलपत्र पर्ने गरेको पनि बताए । उनले भिजिट भिसामा युएई लगायतका देशमा पुगेका नेपाली श्रमिकहरु श्रम स्वीकृति र कानुनी सुरक्षाबिनै जोखिममा काम गरिरहेको उल्लेख गरे । यूएईस्थित नेपाली नियोगमार्फत भिजिट भिसामा पुगेकालाई श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएपनि अहिलेसम्म कार्यान्वयन नभएकोले त्यसलाई तत्काल अघि बढाउन उनले आग्रह गरे ।
सांसद थेबेले श्रम स्वीकृति नवीकरण र सामाजिक सुरक्षा कोष (एसएसएफ)लाई एकीकृत गर्नुपर्ने आवश्यकता पनि औंल्याए। एउटै प्रणालीबाट दुवै सेवा उपलब्ध गराएमा श्रमिकले अनावश्यक झन्झट र विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता हट्ने उनको भनाई छ । उनले सरकार-सरकार (जीटुजी) प्रणालीमार्फत व्यवस्थित रूपमा घरेलु श्रमिक पठाउने व्यवस्था गर्न सकिने सुझाव पनि दिए ।
उहाँले वैदेशिक रोजगारीमा नेपाली श्रमिकको मृत्यु बढ्दो संख्यामा रहेको बताए । अत्यधिक मदिरा सेवन, डिहाइड्रेसन, गर्मीमा काम, मिर्गौलासम्बन्धी समस्या र कार्डियाक अरेस्टका कारण मृत्यु बढेको उनको भनाई छ । उनले विदेशमा रहेका नेपाली श्रमिकको प्रभावकारी ट्रयाकिङ प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धाने पनि श्रमिकको सीप विकास, सुरक्षा र कल्याणमा राज्यले पर्याप्त लगानी राज्यले गर्न नसकेको टिप्पणी गरे । उनले अबदेखि बिना सीप श्रमिक विदेश पठाउने अभ्यास अन्त्य गर्न सरकारलाई आग्रह गरे ।
