२१ अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब ७ करोडमा सीमित

विज्ञापन
ncell

आज नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ७ करोड ८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । 

आज नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ को विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंक घटेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ७ करोड ८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

एभरेष्ट कलरको सेयरमूल्य आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य निरन्तर १२ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, खानीखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक ११.६७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा  खानीखोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

मंगलबार ५८ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।