जनकपुरधाममा सामाजिक सद्भाव कायम गर्न वृहत र्याली प्रदर्शन
काठमाडौं । जनकपुरधाममा पछिल्लो समय उत्पन्न तनावपूर्ण परिस्थितिलाई मत्थर पारी सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक वृहत् सद्भाव र्याली निकालिएको छ ।
जिल्ला प्रशासन कार्यालय, धनुषाको अगुवाईमा आयोजित उक्त र्यालीमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
जनकपुरधामस्थित रेल्वे स्टेसनबाट प्रारम्भ भएको र्यालीले नगरका विभिन्न मुख्य चोकहरूको परिक्रमा गरेको थियो । सुनसरीमा भएको दुई समुदायबीचको झडपपछि उत्पन्न तनाव र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) का बीच नागरिकहरूमा शान्तिको सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।
र्यालीमा प्रतिनिधि सभा सदस्यहरू मनिष झा, रामविनोद यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो । सद्भाव र्यालीकै क्रममा एक समूहले भने विरोध प्रदर्शन समेत गरेको छ। उनीहरूले ‘आन्दोलनलाई ढाकछोप गर्न पाइँदैन’ र ‘हिन्दु राष्ट्र कायम गर’ जस्ता नारा लगाउँदै विरोध जनाएका थिए। सो क्रममा उत्पन्न असन्तुष्टिलाई सम्बोधन गर्न प्रतिनिधि सभा सदस्य मनिष झाले असन्तुष्ट पक्षलाई छलफलका लागि लगेका छन्।