पासपोर्ट ठेक्का अनियमितता प्रकरण : १० अर्ब बिगो दाबी गरिएका सिद्धार्थ थापा साधारण तारिखमा छुटे
उनका विरुद्ध प्रहरीले गैरकानुनी लाभहानी अन्तर्गत १० अर्ब १३ करोड ४ लाख ६१ हजार रूपैयाँ बिगो दाबी गरेको थियो ।
काठमाडौं । राहदानी प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । उनी शुक्रबार विशेष अदालतमा हाजिर भएका थिए ।
उनका विरुद्ध प्रहरीले गैरकानुनी लाभहानी अन्तर्गत १० अर्ब १३ करोड ४ लाख ६१ हजार रूपैयाँ बिगो दाबी गरेको थियो । तर, विशेष अदालतले सामान्य धरौटी पनि नलिई साधारण तारेखमा छोडेको हो ।
उनी राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेण्ट हुन् । नाताले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाका छोरा हुन् ।