बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज तीन दर्जन उद्योगीसँग छलफल गर्दै
चालु आर्थिक वर्षको बजेट ल्याएपछि अर्थमन्त्री वाग्लेको निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलोपटक भेटवार्ता हुन लागेको हो ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनका विषयमा आज उत्पादनमूलक क्षेत्रका करिब तीन दर्जन उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन् । चालु आर्थिक वर्षको बजेट ल्याएपछि अर्थमन्त्री वाग्लेको निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलोपटक भेटवार्ता हुन लागेको हो ।
आज अपराह्न ३:०० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा बजेटमा समेटिएका प्रावधानहरूको सफल कार्यान्वयन, उद्योगीहरूले भोग्नुपरेका चुनौती र उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउने उपायहरूका बारेमा गहन परामर्श हुने बताइएको छ । अर्थमन्त्रीको सचिवालयका अनुसार उत्पादनमूलक क्षेत्रका लगानीकर्ताहरूको सुझावलाई सरकारले उच्च प्राथमिकता दिने उद्देश्यले यो संवादको आयोजना गरिएको हो ।
छलफलमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका उच्च अधिकारीहरूको सहभागिता रहनेछ ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले पनि पछिल्ला केही सातायता नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी, होटल व्यवसायी, महिला उद्यमी, पुँजी बजारका सरोकारवालालगायत विभिन्न निजी क्षेत्रका प्रतिनिधिसँग श्रृंखलाबद्ध छलफल गरेका थिए ।