प्रतिबन्धित वस्तुको कारोबारमा विभागको कडाइ, अनलाइन बिक्रीसमेत निगरानीमा

विज्ञापन
ncell

यसरी प्रतिबन्धित वस्तुहरूको व्यापार भइरहेको प्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ ।

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो ।

यद्यपि, सरकारले बन्देज लगाएका यस्ता वस्तुहरू अहिले पनि बजारमा भौतिक रूपमा मात्र नभई विभिन्न डिजिटल प्ल्याटफर्महरू (अनलाइन माध्यम) मार्फत समेत निर्बाध रूपमा बिक्री वितरण भइरहेको गुनासो र उजुरीहरू प्राप्त भएको विभागले जनाएको छ । यसरी प्रतिबन्धित वस्तुहरूको व्यापार भइरहेको प्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ ।

विभागले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व र शर्त बन्देजहरूको पूर्ण पालना गरी मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । यदि कानुनविपरीतका कार्यहरू गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ र अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।