‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन, परीक्षणपछि सबै सवारीलाई अनुमति
आयोजनामा जापान सरकारको करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ।
काठमाडौँ । सोमवार एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा। तानाका अकिहिको र नेपालका लागि जापानी राजदुत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा। विजय जैसीले संयुक्त रुपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गरेका हुन् । सुरुङमार्ग उद्घाटनका क्रममा व्राह्मणहरुले स्वस्तिवाचनसहित पूजापाठ समेत गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदुत र जाइकाका अध्यक्षबाट संयुक्त रुपमा जापानतर्फको शिलालेखको अनावरण समेत गरेका छन् । उद्घाटनसंगै नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा आएको छ । उद्घाटनपछि मन्त्री लम्सालसहितको टोलीले सुरुङ मार्गको यात्रा पनि गरेका हुन् ।
आयोजनामा जापान सरकारको करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ। मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि सुरुङभित्रको निकास मार्ग ९इभ्याकुएसन टनेल० र क्रस-प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिव ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि।सं। २०७६ देखि यस आयोजनाको निर्माण शुरु गरेको थियो । सुरुङ मार्गमा तत्कालको लागी एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिने सडक विभागका महानिर्देशक डा। विजय जैशीले जानकारी दिनुभयो । सुरुङमार्गलाई चरणवद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइनेछ । उहाँका अनुसार सुरुङ परिक्षणको क्रममा कुनै शुल्क लिइनेछैन भने परिक्षणको क्रम सकिएपछि सवारी साधानको प्रकारअनुसार शुल्क लिइनेछ ।
सडक विभागकाअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाा बराबरको शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ । त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् ।
आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१ दहचोक टोटीपाखाबाट शुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिनेछ ।
