एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ, प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन

प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका छन् । तर अहिलेसम्म उनीहरुको विस्तृत विवरण सार्वजनिक भएको छैन ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि त्रिविका सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति छलफल गरेका थिए । छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका छन् । तर अहिलेसम्म उनीहरुको विस्तृत विवरण सार्वजनिक भएको छैन ।

पक्राउ गरेका व्यक्तिले सामाजिक सञ्जालमार्फत एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलेको छ । ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको ५ मिनेटमै पठाइएको खुलेको छ । ८ साउनमा स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो ।

सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ ले त्रिविको ध्यानाकर्षण गराएको थियो । उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो । प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्न समिति बनाएको छ ।

यसबीच त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाले आइतबार छानबिन समिति गठन गरेको छ । त्यसअघि प्रश्नपत्र बाहिरिएको बारे अध्ययन गरि कडा कारवाही गर्न शिक्षामन्त्री पोखरेलले निर्देशन दिएका थिए ।

घटनाको सत्यतथ्य छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा त्रिविले तीन सदस्यीय समिति गठन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनेको छ । समितिमा अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा.डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सह प्रा.डा. महेशराज ओझा सदस्य छन् ।

‘परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन संकाय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशन भएका दस्तावेजहरू

6a65bef3c6b86_1785052915.pdf