यो साता सुनचाँदी दुबैको मूल्य बढ्यो, सुनमा प्रतितोला ३४०० र चाँदीमा १५० रुपैयाँ बृद्धि

गत साता सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँ र त्यसअघिको साता ३ हजार ३०० रूपैयाँले घटेको थियो ।

काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँ बृद्धि भएको छ ।

साताका ५ दिन निरन्तर बढेको सुनको मूल्य अन्तिम दिन शुक्रबार भने गिरावट आएको थियो । यद्यपी समग्रमा साताभर सुनको मूल्यमा बृद्धि भएको हो । यसअघि लगतातार दुई साता नेपाली बजारमा सुनको मूल्य घटेको थियो । गत साता सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँ र त्यसअघिको साता ३ हजार ३०० रूपैयाँले घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ८ गते शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भयो । यसअघि गत शुक्रबार साउन १ गते सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

साताभरको सुनको मूल्य हेर्दा शुक्रबार प्रतितोला ५ हजार ८०० रुपैयाँले घटेको थियो । त्यसअघि बिहीबार प्रतितोला ३०० रुपैयाँ, बुधबार ५ हजार ४०० रुपैयाँ, मंगलबार १ हजार रुपैयाँ, सोमबार ६०० रुपैयाँ र आइतबार १ हजार ९०० रुपैयाँले बढेको थियो ।

सुनजस्तै यो साता चाँदीको मूल्य पनि बढेको छ । सुनजस्तै चाँदी पनि यो साताका सुरुवाती ५ दिन मूल्य बढ्दा अन्तिम दिन भने घटको छ । साउन १ गते शुक्रबार ४ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी यो साता साउन ८ गते शुक्रबार ४ हजार ३५० रुपैयाँमा कारोबार भयो । विवरण अनुसार शुक्रबार चाँदी प्रतितोला १५५ रुपैयाँले घटेको छ । त्यसअघि बिहीबार चाँदी प्रतितोला २५ रुपैयाँ, बुधबार ११० रुपैयाँ, मंगलबार ५० रुपैयाँ, सोमबार ८० रुपैयाँ र आईतबार ४० रुपैयाँले बढेको थियो ।