राष्ट्रिय परिचयपत्र नभई डिजिटल वालेट खोल्न नपाईने, विदेशमा रहेका र अशक्तलाई विशेष छुट

राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउन भनेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाालीका विषयमा ६ बुँदे निर्देशन जारी गरेको छ । 

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार राष्ट्रिय परिचयपत्रको विवरण यकीन गरी वालेट खोल्ने व्यवस्था मिलाउन भनेको छ । राष्ट्र बैंकको नयाँ निर्देशनले खल्ती, इसेवा जस्ता डिजिटल वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ ।

त्यस्तै अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोजभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वःघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोजभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउन भनेको छ । 

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत् विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर वालेट खोल्न सकिने व्यवस्था गरिएको छ । यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

आफ्नो हेरचाह आँफै गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था नयाँ निर्देशनमा छ ।