मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा ९ प्रतिशतले बढ्यो, अन्य सूचकहरुको अवस्था कस्तो ?

अघिल्लो आर्थिक वर्ष २० करोड ४५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष ५०.३० प्रतिशत बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ करोड ९५ लाख रुपैयाँको तुलनामा ८.९८ प्रतिशत बढी हो ।

पूर्वी नेपालमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको मितेरीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफासँगै अन्य प्रमुख सूचकहरूमा सुधार गरेको छ । यसअवधिमा ब्याज खर्च घटेका कारण मितेरीको खुद ब्याज आम्दानीमा ठूलो सुधार आएको छ । अघिल्लो आर्थिक वर्ष २० करोड ४५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष ५०.३० प्रतिशत बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा १८ करोड ५७ लाख रुपैयाँबाट बढेर २० करोड १७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको गत असारसम्म सेयरधनीहरूलाई वितरण गर्न मिल्ने वितरणयोग्य नाफा १५ करोड ४८ लाख ६६ हजार रुपैयाँ छ । हाल चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेका बैंकको सेयरधनीहरूलाई १२.७३ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता छ । यसअवधिमा निक्षेप संकलन ६ अर्ब ५० करोड रुपैयाँबाट बढेर ८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँ छ ।

बैंकले यसअवधिमा निष्क्रिय कर्जा नियन्त्रणमा राख्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा झनै घटेर ०.२६ प्रतिशतमा सीमित छ । जुन निस्क्रिय कर्जा वित्तीय क्षेत्रमै अत्यन्तै न्यून र सुरक्षित मानिएको छ । त्यसैगरि बैंकको प्रति सेयर आम्दानी १० रुपैयाँ ६५ पैसाबाट बढेर ११ रुपैयाँ ६० पैसा पुगेको छ । गत असारसम्म बैंकको प्रति सेयर नेटवर्थ (कितावी मूल्य) १४३ रुपैयाँ २० पैसा र पूँजी कोष अनुपात (सीडी रेसियो) २५.७५ प्रतिशत छ । बैंकको कोषको लागत ५.१२ प्रतिशतबाट घटेर ४.२२ प्रतिशतमा खुम्चिएको छ भने ब्याजको आधार दर ५.९८ प्रतिशतमा झरेको छ ।