प्रणालीगत सुधार र प्रविधिमैत्री प्रशासनबाट मात्रै अर्थतन्त्रको कायापलट सम्भव छः अर्थमन्त्री वाग्ले
पुरानो र बोझिलो दरबन्दी संरचनालाई परिमार्जन गरि कार्यक्षमता बढाउन आइटी प्रणालीको स्तरोन्नति र चुस्त वाइफाई सेवा जस्ता आधारभुत आवश्यकतामा कुनै कञ्जुस्याइँ नगर्न सम्बद्ध पक्ष लाग्नुपर्छ ।
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताएका छन् ।
बिहीवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले परम्परागत शैलीको प्रशासनलाई सुधार गरी नतिजामुखी बनाउन निर्देशन दिए । अर्थमन्त्री वाग्लेले ‘राज्यले लिने नीति र बीउ पुँजीका रूपमा गरिने लगानीले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्छ’ अर्थमन्त्री वाग्लेले भने, ‘त्यसैले राजश्व संकलनको पद्धतिलाई थप सुदृढ बनाउनुपर्छ ।’ ‘स्वेच्छिक कर अनुपालन’को अवधारणालाई जोड दिँदै अर्थमन्त्री वाग्लेले करका दरहरूलाई व्यावहारिक बनाउन र करदाताहरूलाई नागरिक एवं उद्यमीका रूपमा ससम्मान व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।
प्रशासनिक सुधारको सन्दर्भमा अर्थमन्त्री वाग्लेले पुरानो र बोझिलो दरबन्दी संरचनालाई परिमार्जन गरि कार्यक्षमता बढाउन आइटी प्रणालीको स्तरोन्नति र चुस्त वाइफाई सेवा जस्ता आधारभुत आवश्यकतामा कुनै कञ्जुस्याइँ नगर्न सम्बद्ध पक्षलाई निर्देशन दिए ।
सरकारले चालु आर्थिक वर्षमा खर्च कटौती र मितव्ययितालाई प्राथमिकता दिएको अर्थमन्त्री वाग्लेको भनाई छ । २२ वटा मन्त्रालयलाई १८ मा झार्दा करिव २० अर्ब रुपैयाँ वचत हुने अनुमान गरिएको भन्दै अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई गतिशील बनाउन यसपटकको बजेटमार्फत २७ वटा विभिन्न कानून परिमार्जनको प्रक्रिया अघि बढाइएको बताए । अर्थ मन्त्रालयलाई केवल राजश्व उठाउने र खर्च गर्ने निकायमा मात्र सिमित नराखी ‘अर्थतन्त्रको मन्त्रालय’ का रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि अर्थमन्त्रीले जानकारी दिए ।
करदाताका गुनासा सुन्न र राजश्व प्रशासनमा देखिएका व्यावहारिक अड्चन हटाउन सरकार प्रतिवद्ध रहेको भन्दै अर्थमन्त्री वाग्लेले कुनैपनि किसिमका अनियमिताका विरुद्ध प्रमाणसहित आए सिधै आफूलाई सम्पर्क गर्नसमेत कर्मचारी र सर्वसाधारणलाई आह्वान गरे । अर्थतन्त्रमा देखिएका चुनौतीहरूलाई चिर्दै आगामी पाँच वर्षभित्र बोल्ड निर्णयहरूका माध्यमबाट उल्लेख्य सुधारका नतिजाहरू जनतामाझ पुर्याउने अठोट अर्थमन्त्री वाग्लेले दोहोर्याए ।