व्यवसायी शंकर अग्रवाल फेरी परे पक्राउ, अदालतमा उपस्थित गराइयो

सुलभ अग्रवाल, दिपक भट्टसहित जोडिएको मुद्दामा प्रहरीले शंकर अग्रवाललाई पक्राउ गरेको हो । सुलभ शंकरका छोरा हुन् । शंकरलाई यसअघि पनि प्रहरीले पक्राउ गरेर केही दिन हिरासतमा राखेपछि छाडेको थियो ।

काठमाडौं । प्रहरीले व्यवसायी शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो ।

शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेको बताइएको छ । अग्रवालको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । आईबीले बुधबारै अग्रवाललाई उच्च अदालतमा उपस्थित गराएको जनाएको छ ।

ुनेपाल राष्ट्र बैकको प्रत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपक भट्ट समेत भएको बैकिङ कसुर तथा सजाँय ऐन २०६४ अन्तर्गतको कसुरमा वारदात मितिदेखि फरार रहेका काठमाडौं जिल्ला का.म.न.पा. ४ स्थायी ठेगाना भएका प्रतिवादी शंकरलाल अग्रवाललाई आज यस व्यूरोवाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्ला का.म.न.पा-३० डिल्लीबजारबाट पक्राउ गरि उच्च अदालत, पाटनमा उपस्थित गराईएको छ, सीआईबीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सुलभ अग्रवाल, दिपक भट्टसहित जोडिएको मुद्दामा प्रहरीले शंकर अग्रवाललाई पक्राउ गरेको हो । सुलभ शंकरका छोरा हुन् । शंकरलाई यसअघि पनि प्रहरीले पक्राउ गरेर केही दिन हिरासतमा राखेपछि छाडेको थियो । यसअघि सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी शंकर अग्रवाल केही समयपछि रिहा भएका थिए ।