‘प्रोटोन इमास ५’ सार्वजनिकसँगै जगदम्बा मोटर्सद्वारा भक्तपुरको राधे-राधेमा अत्याधुनिक शोरुम सञ्चालन

सोमबार मात्रै प्रोटोन इमास ५ सार्वजनिक गरेको कम्पनीले मंगलबार भक्तपुरको राधे-राधेमा अत्याधुनिक सुविधासहित नयाँ शोरुम तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ विद्युतीय गाडी प्रोटोन इमास ५ सार्वजनिकसँगै देशभर आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गरेको छ । 

सोमबार मात्रै प्रोटोन इमास ५ सार्वजनिक गरेको कम्पनीले मंगलबार भक्तपुरको राधे-राधेमा अत्याधुनिक सुविधासहित नयाँ शोरुम तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । यो पूर्वाधार र सेवा सुविधाका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सेवा केन्द्रमध्ये एक रहेको कम्पनीले जनाएको छ । 

जगदम्बा मोटर्सले प्रोटोन ब्रान्डप्रति बढ्दो ग्राहक विश्वासलाई मध्यनजर गर्दै देशभर सेवा पहुँच विस्तार गर्ने योजना अघि सारेको छ । भक्तपुर शाखापछि आगामी सातादेखि वीरगन्ज, जनकपुर र नेपालगन्जमा पनि नयाँ शोरुम सञ्चालनमा ल्याइने कम्पनीको दाबी छ । यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढीबाट बिक्री तथा बिक्रीपछिको सेवा दिँदै आएको छ ।

जगदम्बा मोटर्सले सन् २०१८ देखि नेपालमा प्रोटोन ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री वितरण गर्दै आएको छ। मलेसियाको राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि चिनियाँ अटो निर्माता जिलीसँगको रणनीतिक साझेदारीपछि अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ ।