क्यानका पूर्वमहानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा, १ करोड ७१ लाख बिगो माग
गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा लिएको आरोप
अख्तियारले अधिकारीमाथि एक करोड ७१ लाख रुपैयाँ बिगो मागदावी सहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारी विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।
अख्तियारले अधिकारीमाथि एक करोड ७१ लाख रुपैयाँ बिगो मागदावी सहित विशेष अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो ।
अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा लिएको आरोप लगाएको छ । घुस रिसवत लिई लिन लगाई भ्रष्टाचार गरेको सम्बद्ध कसुर भई सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग)
गरेको आरोप अख्तियारले लगाएको छ । अख्तियारले गायत्री निर्माण सेवाका प्रमुख ढकाललबाट पनि १ करोड ७१ लाख रुपैयाँ विगो मागेको छ ।
ठेक्का प्रक्रियामा सेटिङ गरिदिए बापत ठेकेदारबाट करोडौँ रूपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको अभियोगमा आयोगले मुद्दा हालेको हो । घुसबापत प्राप्त भएको उक्त अवैध रकम लुकाउन अधिकारीले ललितपुर महानगरपालिका-५ मा श्रीमतीको नाममा जग्गा खरिद गरेको भेटिएको छ । उनले ०-१३-०-० क्षेत्रफलको उक्त जग्गा खरिद गर्दा सरकारी लिखतमा जम्मा ९१ लाख रूपैयाँ मात्र मूल्य कायम गरी वास्तविक कारोबारको रकम लुकाएका थिए ।
बाँकी १ करोड ७१ लाख रूपैयाँ अवैध स्रोतबाट प्राप्त भएको र त्यसलाई वैध देखाउन सरकारी लिखत सच्याउने तथा बैङ्क खाताहरूबाट अस्वाभाविक कारोबार देखाउने कार्य गरी उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अख्तियारको ठहर छ । दुवै कसुरमा आयोगले अधिकारी र गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकाललाई प्रतिवादी बनाएको छ । ढकाललाई घुस दिने र सम्पत्ति शुद्धीकरणमा सघाउने कार्यमा संलग्न रहेको आरोप छ ।