चालू वर्ष १६६ कानुन सुधार र निर्माण गरिने, संघीय संसद्लाई विजनेश अभाव हुन नदिन ९ बुँदे कार्ययोजना
‘कानून निर्माण वर्ष सफल बनाउन तथा सङ्घीय संसद्लाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका १६६ विधेयकको लक्ष्य पूरा गर्न आजबाट छलफल थालेका हौं ।
काठमाडौं। चालु आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले लक्ष्य पूरा गर्न सम्वन्धित मन्त्रालयहरुसँग छलफल अघि बढाएको छ ।
सोमबार सबै मन्त्रालयका कानुन शाखारमहाशाखाबीच छलफल गरेको कानुनमन्त्री सोबिता गौतमको सचिवालयले जनाएको छ । प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने मन्त्री गौतमको सचिवालयको भनाई छ ।
‘कानून निर्माण वर्ष सफल बनाउन तथा सङ्घीय संसद्लाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका १६६ विधेयकको लक्ष्य पूरा गर्न आजबाट छलफल थालेका हौं, यो छलफल प्रत्येक महिनाको पहिलो सोमबार हुनेछ’ मन्त्री गौतमको सचिवालयले भनेको छ ।
चालू वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची यसअघि नै कानुन मन्त्रालयले संघीय संसद्मा बुझाइसकेको छ । विकासको लागि सहज वातावरण निर्माण यो वर्ष पूरै कानुन सुधारमा लाग्ने मन्त्रालयले उल्लेख गरेको छ । कानुन सुधार तथा कानुन निर्माण वर्षका लागि मन्त्रालयले ९ बुँदे कार्ययोजना तयार पारिसकेको जनाएको छ । सरकारले संसद्लाई विजनेशको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।