सुनको मूल्य प्रतितोला ५३०० रुपैयाँले घट्यो, लगातार दोस्रो साता गिरावट

गत साता घटेको थियो ३३०० रुपैयाँ

गत साता पनि सुन प्रतितोला ३ हजार ३०० रूपैयाँले घटेको थियो । अघिल्लो साता भने सुनको मूल्य प्रतितोला ११ हजार ६०० रूपैयाँले बढेको थियो ।

काठमाडौं । सुनको मूल्यमा लगातार दोस्रो साता गिरावट देखिएको छ । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्यमा ५ हजार ३०० रुपैयाँले गिरावाट आएको छ । गत साता पनि सुन प्रतितोला ३ हजार ३०० रूपैयाँले घटेको थियो । अघिल्लो साता भने सुनको मूल्य प्रतितोला ११ हजार ६०० रूपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सगत असार २६ गते शुक्रबारदेखि साउन १ गते शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उतारचढाव देखिएको हो । असार २६ गते सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ हाराहारी रहेकेा मूल्य साउन १ गते शुक्रबार भने २ लाख ८२ हजार १०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

असार २८ गते आईतबार शुक्रबारको तुलनामा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरि असार २९ गते सोमबार २ लाख ८५ हजार ५०० रुपैयाँमा झरेको सुनको मूल्य असार ३० मंगलबार २ लाख ८४ हजार २०० रुपैयाँमा सीमित भयो । तर, असार ३१ गते बुधबार र र ३२ गते बिहीबार भने सुनको मूल्यमा सामान्य सुधार आयो । असार ३१ गते २ लाख ८४ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको ससुन असार ३२ गते २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भयो ।

तर, साउन १ गते शुक्रबार भने सुनको मूल्यमा गिरावट देखियो । बिहीबारको तुलनामा ३ हजार १०० रुपैयाँले घटेर साउन १ गते सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा आउने परिवर्तन र आर्थिक गतिविधिका कारण नेपाली बजार पनि प्रभावित हुँदा सुनको मूल्यमा दिनहुँजसो उतारचढाव आएको व्यवसायीहरुको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा शनिबार सुन प्रति औंस ४०१७.५१ डलरमा कारोबार भइरहेको छ । पछिल्लो २४ घण्टामा सुन प्रति औंस २९.७३ डलरले महँगिएको छ ।