नयाँ आर्थिक वर्षलाई सेयर बजारले गर्यो स्वागत, नेप्से ७९.७४ अंकले बढ्दा ४ अर्ब ५७ करोडको कारोबार
प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीचको सवांदले सेयर बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषण
शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा उक्लिएको छ । आज नेप्सेमा कुल ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । नयाँ आर्थिक वर्षलाई सेयर बजारले स्वागत गरेको छ । गत वर्ष पनि सुरुवाति चरणमा बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) साउन १३ गते ४ वर्षयताकै उच्च ३००२ विन्दुमा पुगेको थियो । त्यसपछि राजनितिक परिवर्तन र अन्य विभिन्न कारणले बजार घटेको थियो ।
निरन्तर बजार घटिरहेका बेला बिहीबार मात्रै प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री र गभर्नरबीचको भेटमा सेयर बजारका विषयमा कुराकानी भएको बिषय बाहिरिएको थियो । निरन्तर सेयर बजार घटेर लगानीकर्ता प्यानिक भइरहेका बेला प्रधानमन्त्री र गभर्नरको भेटले लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव परेको र त्यसको असर सेयर बजारमा परेको हुनसक्ने आंकलन गरिएको छ ।
सरकारले बजेटमार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अल्पकालीन (एक वर्षभन्दा कम अवधि) १० प्रतिशत र दीर्घकालीन ७.५ प्रतिशत (एक वर्षभन्दा बढी अवधि) बनाइएको छ । उक्त व्यवस्था लागु भएसँगै सेयर बजारमा उत्साह देखिएको हो । बजेट भाषणमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सूचीकृत धितोपत्र बिक्रीबाट उठाइने पूँजीगत लाभकरलाई अन्तिम कर बनाइने घोषणा गरेका थिए । तर आर्थिक ऐनमा त्यसबारे स्पष्ट व्यवस्था नभएकाले कानुनी व्याख्याको विषय बनेको छ।
साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा उक्लिएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से ७.५० अंक, मंगलबार १४ अंक र सोमबार ६.११ अंकले बढेको थियो । त्यसअघिका चार कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।
नेप्से उच्च अंक बढेपनि आज कारोबार रकम भने सामान्य बढेको छ । आज नेप्सेमा कुल ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार भने नेप्सेमा ४ अर्ब ५६ करोड करोड बराबरको कारोबार भएको थियो ।
आज श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने शिखर पावर डेभलपमेन्टको सेयरमूल्य साढे १२ प्रतिशत बढेको छ । कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक १५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको साढे १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रबार कारोबारमा आएकामध्ये २५९ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको घटेको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।