घुस प्रकरणमा टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख जरिवाना

प्रतिवादी पौडेलले कसुर गर्दाको बखत जिम्मेवार सार्वजनिक पदमा बहाल रहेकोले थप ६ महिना कैद सजाय तोकिएको छ ।

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार उनीहरूलाई कैद, जरिवाना र पीडित राहत कोषमा रकम दाखिला गर्ने फैसला सुनाएको हो । प्रतिवादी पौडेलले कसुर गर्दाको बखत जिम्मेवार सार्वजनिक पदमा बहाल रहेकोले थप ६ महिना कैद सजाय तोकिएको छ । त्यस्तै, १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना तोकिएको छ । अर्का व्यवसयी दिपक आनन्दलाई पनि ८ वर्ष कैद सजाय र पौडेल बराबरको जरिवाना रकम तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले असार ३० गते दोषी ठहर गरेको थियो। यसैगरी, अपराध पीडित संरक्षण ऐनबमोजिम दुवै प्रतिवादीबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न समेत अदालतले आदेश दिएको छ।