एक वर्षमा सेयर बजारबाट २ खर्ब स्वाहा ! आर्थिक वर्षको पहिलो दिन बढेको नेप्से अन्तिम दिन पनि बढ्यो

विज्ञापन
ncell

आर्थिक वर्षको अन्तिम दिन ७.५० अंकले बढ्यो, ४ अर्ब ५६ करोडको किनबेच

असोज ३० गते नेप्से आर्थिक वर्षकै न्यूनतम २४८७ विन्दु मा झरेको थियो । बोलेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुनु अघिल्लो दिन अर्थात् २०८२ चैत १२ गते नेप्से यो आर्थिक वर्षकै उच्च २९६०.४० अंकमा बन्द भएको थियो ।

काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को अन्तिम कारोबार दिन सेयर बजारमा मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सामान्य अंक बढेर बन्द भएको छ । बिहीबार नेप्से ७.५० अंक बढेर २५९७.८० विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ५६ करोड २९ लाख रुपैँया बराबरको सेयर किनबेच भएको छ । 

चालू आर्थिक वर्षको अन्तिम दिन सेयर बजार बढेजस्तो यो वर्ष सुरुवाती दिनहरुमा पनि नेप्सेले सकारात्मक लय समातेको थियो । यद्यपी आर्थिक वर्ष सकिँदा नेप्सेमा १९६.९८ अंकको गिरावट देखिएको छ । नेप्सेको गिरावटसँगै बजार पुँजीकरणमा पनि ठूलो धक्का लागेको छ । २०८२ असार ३२ गते ४६ खर्ब ५६ अर्ब ९८ करोड ९३ लाख रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन आज (२०८३ असार ३२ गते) घटेर ४४ खर्ब ६३ अर्ब ५५ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा बजार पूँजीकरण १ खर्ब ९३ अर्ब ४३ करोड १८ लाख रुपैयाँले घटेको छ । यसको अर्थ चालू एक आर्थिक बर्षमा लगानीकताहरुले झण्डै २ खर्ब रुपैयाँ बजारबाट गुमाएका छन् ।

यद्यपी चालू आर्थिक वर्ष नेपालको पुँजी बजारका लागि तीव्र उतारचढावको वर्ष बन्यो । वर्षभरका विभिन्न राजनीतिक घटनाक्रम, आन्दोलन, निर्वाचन, लगानीकर्ताको मनोविज्ञान तथा नियामकीय गतिविधिको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखियो ।

चालू वर्षको पहिलो कारोबार दिन साउन १ गते बजारले उत्साहजनक सुरुवात गरेको थियो । त्यस दिन नेप्से ७५ अंकले बढेर २८७० विन्दु पुगेको थियो भने १६ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बजार सकारात्मक लयमा अघि बढ्दा साउन १३ गते ४ वर्षयताकै उच्च ३००२ विन्दुमा पुगेको थियो । त्यसदिन बजार पुँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड ४५ लाख रुपैयाँबराबर थियो । यद्यपि, यो उत्साह लामो समय टिक्न सकेन । भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनका कारण सेयर बजार केही दिन बन्द रह्यो । बजार असोज २ गते खुलेपछि लगानीकर्तामा देखिएको दबाबका कारण नेप्से एकै दिन १६० अंकले घटेर २५११ विन्दुसम्म झर्यो । त्यस दिन ७ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । लगातार बिक्री चाप बढेपछि त्यस दिन तेस्रो पटक नेगेटिभ सर्किट ब्रेक समेत लागेको थियो ।

यसको केही दिनपछि भने बजारमा सुधार देखियो । असोज ५ गते नेप्से १११ अंकले बढेर २६२३ विन्दु पुगेको थियो भने ९ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । तर, त्यो बढाईले निरन्तरता पाउन सकेन र पुनः बजार घट्न थाल्यो । असोज ३० गते नेप्से आर्थिक वर्षकै न्यूनतम २४८७ विन्दु मा झरेको थियो । त्यस दिन नेप्से १८ अंकले घट्दा ३ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबारमा खुम्चिएको थियो ।

वर्षको अर्को महत्त्वपूर्ण मोड फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन बन्यो । निर्वाचनपछि पहिलो कारोबार दिन फागुन २५ गते लगानीकर्ताको उत्साहले नेप्से १६२ अंकले बढेर २८७५ विन्दु पुगेको थियो । तीव्र खरिद चापका कारण त्यस दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि नियमित समयअघि नै कारोबार बन्द गरिएको थियो । त्यस दिन ५४ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

निर्वाचनमा दुईतिहाई बहुमत नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता अर्थात् काठमार्डा) महानगरपालिकाका निवर्तमान प्रमुख बोलेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुनु अघिल्लो दिन अर्थात् २०८२ चैत १२ गते नेप्से यो आर्थिक वर्षकै उच्च २९६०.४० अंकमा बन्द भएको थियो । तर, नयाँ सरकार बनेसँगै सेयर बजारले ओरालो गति समायो । नयाँ सरकारले पुर्व प्रधानन्त्री केपी शर्माओली, पूर्व गृहमन्त्री रमेश लेखकलगायतलाई समाउन थालेसँगै बजारले विश्वास गुमायो । अझ सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिचौलिया आरोपित दीपक भट्टसहित केही व्यवसायी पक्राउ परेपछि बजारमा झनै मनोवैज्ञानिक दबाब सिर्जना भयो । त्यति मात्र होइन सरकारले निर्माण व्यवसायीहरुलाई समेत धम्क्याउने र थुन्ने गर्न थालेपछि लगानीकर्ताको मनाबेल थप कमजोर बन्यो । अझ जेठ १५ गते बजेट वक्तव्यमार्फत पुँजीगत लाभकर बृद्धि गरेसँगै सेयर बजारले ओरालो यात्रामा ब्रेक लगाउनै सकने । यदाकदा झिनो अंकमा नेप्से बढेपनि समग्रमा बजार ओरालै लाग्यो र सेयर बजार लगानीकर्ताहरु आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति निर्माण भयो । गत मंगलबार सेयर बजारका लगानीकर्ताले आन्दोलन घोषणा गरेसँगै पछिल्लो ३ दिन नेप्सेमा झिनो सुधार देखिएको छ । चालू वर्षमा लगानीकर्ता सेयर बजारको उतारचढावको राम्रै अनुभव हासिल गरे । लगानीकर्ताले नेप्सेको तीव्र वृद्धि र गिरावट दुवै देखे र एक वर्षमा झण्डै २ खर्ब रुपैयाँ सेयर बजारबाट स्वाहा पारे ।

आज बुधबार एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ । त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक ८.७७ प्रतिशत घटेको छ ।  कारोबार रकमका आधारमा आज सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २४ करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को २३ करोड रुपैयाँबराबरको किनबेच भएको छ ।