साउनमा ६ बैंकले ब्याजदर पुनः घटाउँदा अधिकांशको स्थिर, कुनको कति पुग्यो ?
साउन महिनाका लागि ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले असार महिनाको व्याजदरलाई नै निरन्तरता दिने भएका छन् ।
काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन । साउन महिनाका लागि ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले असार महिनाको व्याजदरलाई नै निरन्तरता दिने भएका छन् । बैंकहरूले सार्वजनिक गरेको असारको ब्याजदर अनुसार अधिकांश बैंकहरूले साउन महिनाकै दरलाई निरन्तरता दिएका छन् । तर बजारमा पर्याप्त तरलता रहेको र निक्षेप संकलनमा प्रतिस्पर्धा कम भएको कारण केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतविन्दुबाट घटेर साउनमा ४.१६७५ प्रतिशतविन्दुमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि असारको ३.१८ प्रतिशतविन्दुबाट घटेर साउनमा ३.११६ प्रतिशतविन्दुमा झरेको छ ।
एनएमबी बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशतबाट ४.५० प्रतिशतमा झार्दै ०.२५ प्रतिशत बिन्दुले कटौती गरेको छ । संस्थागत निक्षेपको ब्याजदर पनि ४ प्रतिशतबाट ३.५० प्रतिशतमा झरेको छ । कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा घटाएको छ भने संस्थागत निक्षेपको दर यथावत ३.०१ प्रतिशत कायम राखेको छ ।
ग्लोबल आईएमई बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.५० प्रतिशतबाट ४ प्रतिशतमा तथा संस्थागत निक्षेपको ब्याजदर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको छ। कृषि विकास बैंकले संस्थागत निक्षेपको ब्याजदर २.७८ प्रतिशतबाट २.७५ प्रतिशतमा सामान्य कटौती गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट ४ प्रतिशतमा तथा संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ३ प्रतिशतमा झार्दै सबैभन्दा ठूलो कटौती गरेको देखिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगत निक्षेपको ब्याजदर ४.९० प्रतिशतबाट ३.७५ प्रतिशतमा तथा संस्थागत निक्षेपको ब्याजदर ३.५० प्रतिशतबाट ३ प्रतिशतमा झारेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा घटाएको छ ।
यता एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले भने असार महिनाकै अधिकतम ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् ।