नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीको सजायँ तोकियो, कसलाई कस्तो सजायँ ?

नक्कली शरणार्थी प्रकरण मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनालाई सफाइ दिएको थियो ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषीहरुको सजायँ निर्धारण गरेको छ । मंगलबार नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि भएको सुनुवाइपछि जिल्ला अदालतले दोषीहरुको प्रकृतिअनुसार सजायँ तोकेको हो । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सबै आरोपीहरुको फरक(फरक मुद्दामा फरक फरक सजायँ निर्धारण गरेको छ । नक्कली शरणार्थी प्रकरण मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनालाई सफाइ दिएको थियो ।

नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, टेकनाथ रिजाल मुद्दाको सुरुवातदेखि नै पुर्पक्षका लागि थुनामा छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाण भने थुनाबाहिर छन् ।

पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ । 

ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, स+गठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद तोकिएको छ । यो सबै गर्दा रायमाझीले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला छ ।

बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो । ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना निर्धारण गरिएको छ । राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ । त्यस्तै थप तीन महिना कैद तोकिएको छ । अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको छ । 

पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिबाना

नक्कली शरणार्थी प्रकरणमा दोषी ठहरिएका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालतले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकेको छ।

पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ । पाण्डेलाई ठगी तर्फ २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार जरिबाना तोकिएको छ । त्यस्तै एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ ।

मुख्य योजनाकार भण्डारी र दुलाललाई समान ४ वर्ष कैद र ४० हजार जरिबाना

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ । मुख्य योजनाकार मानिएका दुलाल र भण्डारीलाई सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार जरिबाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना तोकिएको छ । उनीहरुलाई सबै कसुरको एकीकृततर्फमा कुल ४ वर्ष ४० हजार कैद सुनाइएको छ ।

टेकनाथ रिजाललाई २ वर्ष कैद, २० हजार रुपैयाँ जरिबाना

जिल्ला अदालत काठमाडौंले रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको छ ।

इन्द्रजित राईलाई ४ वर्ष कैद, अब साढे २ महिना जेल

नक्कली शरणार्थी प्रकरणमा मुछिएका डा.इन्द्रजित राईविरुद्ध पनि सजाय निर्धारण भएको छ । राईलाई एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण गरिएको छ । ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको छ । राईको हकमा उनी ७५ वर्ष नाघेकाले ७५ प्रतिशत सजाय छुट हुने अदालतले जनाएको छ । अब उनले २ महिना १३ दिन कैद र जरिबाना भुक्तान गरे पुग्नेछ । उनी पुर्पक्षका लागि थुनामै छन् । उनले ३ वर्ष २ महिना १० दिन सजाय भुक्तान गरिरहेका छन् । बाँकी भने ९ महिना २० दिन कैदको हकमा छुट हुनेछ । उनले ७ महिना ७ दिन कैद छुट पाउनेछन् । राई नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएका बेला सल्लाहकार थिए ।

५ जनालाई एक-एक वर्ष कैद, १०-१० हजार जरिबाना

अदालतले ५ जनालाई १ वर्ष कैद सजाय निर्धारण गरेको छ भने उनीहरूलाई १० हजार रुपैयाँ जरिबाना समेत तोकेको छ । १ वर्ष कैद सजाय निर्धारण हुनेमा शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा छन् ।