बुधबारदेखि सिलिन्डरभरि ग्यास, मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले बुधबार (साउन ३१ गते) देखि १४.२ किलोग्राम तौलको खाना पकाउने ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ ।

निगमका अनुसार भारतका विभिन्न ग्यास भर्ने केन्द्र र प्रशोधन केन्द्रबाट ग्यास आपूर्तिमा सुधार आएपछि तथा उपभोक्ताबाट १४.२ किलोग्रामको सिलिन्डरको माग बढेकाले बुधबारदेखि साविककै तौलको ग्यास बिक्री गर्ने व्यवस्था गरिएको हो ।

अमेरिका इरानबीच द्धन्द्ध चर्किँदा मूल्य आकासिएसँगै निगमले २९ फागुन २०८२ बाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको सूचनामार्फत जानकारी दिएको छ ।

यद्यपी ७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रुपमा प्रतिस्थापन नहुँदासम्म भने बजारमा दुबै सिलिण्डरको बिक्री हुने निगमले जनाएको छ । निगमका अनुसार हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ ।