११ महिनामा रेमिट्यान्स ३८.२ प्रतिशत बढेर भित्रियो सवा २१ खर्ब, जेठमै २ खर्बमाथि

चालू वर्ष जेठ महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ३ अर्ब ८९ करोड रूपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब ७६ अर्ब ३२ करोडको तुलनामा १५.६२ प्रतिशतले बढी हो ।

काठमाडौं । चालू आर्थिक वर्ष २०८२-८३ को ११ महिना (२०८३ जेठ) सम्म मुलुकको विप्रेषण आप्रवाह (रेमिट्यान्स) उच्च दरमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार ११ महिनामा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रूपैयाँ पुगेको छ। गत वर्ष विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । गत वर्ष यस्तो बृद्धिदर १२.८ प्रतिशत मात्र थियो । चालू वर्ष जेठ महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ३ अर्ब ८९ करोड रूपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब ७६ अर्ब ३२ करोडको तुलनामा १५.६२ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ लाख ५२ हजार ३२४ रहेको थियो । नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा भने वृद्धि भएको छ । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ३ लाख ८ हजार ६७ थियो । 

रेमिट्यान्समा आएको सुधारसँगै समीक्षा अवधिमा खुद द्वितीय (खुद ट्रान्सफर) आय पनि बढेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो ११ महिनामा खुद द्वितीय आय २३ खर्ब २१ अर्ब ७ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड थियो ।