राहदानी नपाएपछि विभाग अगाडि आत्मदाह प्रयासः नेकपा सांसदले सोधे– सरकार कहाँ छ ?

सम्बोधनका क्रममा दुलालले सरकारको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाएका हुन् ।

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिको आत्मदाह प्रयास गरेका छन् । 

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त घटनाप्रति सरकारको ध्यानाकर्षण गरेका हुन् । प्रमुख सचेतक दुलालले राहदानी प्राप्त गर्न भएको ढिलाइका कारण आजित भएर एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याई आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी आएको संसदलाई जानकारी गराएका हुन् । सम्बोधनका क्रममा दुलालले सरकारको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाएका हुन् । 

उनले भने, ‘जनताको घरदैलोमै राहदानी पुर्‍याउने उद्घोष गरेको सरकारले सेवा प्रवाहमा ढिलाइ गरेकै कारण सेवाग्राहीले यस्तो आत्मघाती कदम चाल्नुपरेको देखिन्छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पीडित सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदा सरकार कहाँ छ ? कति नागरिकले आत्मदाह गरेपछि मात्र राहदानी घरघरमा पुग्ने हो ?’

उक्त घटनाप्रति दुःख प्रकट गर्दै उनले सरकारलाई नागरिकका समस्याप्रति संवेदनशील हुन आग्रह गरेका हुन् ।