स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने अर्थमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः नेकपा सांसद मल्ल

निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने भनेर बनेको सरकारले स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालन गर्न नसकिने भनिएको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले स्वास्थ्य बीमा कार्यक्रम यथास्थिति चलाउन नसकिने भनि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने भनेर बनेको सरकारले स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालन गर्न नसकिने भनिएको भन्दै उनले आक्रोश समेत व्यक्त गरे । जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य बीमा कार्यक्रम पूरै बन्दै भएकाले त्यसको तत्काल व्यवस्था गर्न पनि सरकारलाई दवाव दिए । सांसद मल्लले कर्णालीमा विशेषज्ञ चिकित्सकहरु पठाउन पनि सरकारलाई सचेत गराए ।  

उनले भने,‘सल्यान जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवा प्रभावित भइरहेको कुरा गम्भिरतापूर्वक हामीले उठाएका थियौँ । तर पनि अहिलेसम्म सरकारको तर्फबाट कुनै ठोस पहल भएको छैन । त्यहाँ सामान्य उपचार पनि गराउन नसक्दा विरामीहरु घर फर्कन बाध्य हुनुपर्ने दुःखद् अवस्था छ । कर्णालीमा चिकित्सकहरु पठाउनका लागि स्वास्थ्य मन्त्रालयका पटक पटक आग्रह गर्दा पनि सुनुवाई भएको छैन । त्यसैले कर्णालीको स्वास्थ्य उपचारको बारेमा सरकार किन यति धेरै गैरजिम्मेवार भईरहेको छ रु जिल्ला अस्पतालमा भइरहेको स्वास्थ्य विमा कार्यक्रम पूरै बन्द भएको अवस्था छ । अर्थमन्त्री यस्तो खालको स्वास्थ्य विमा कार्यक्रम लागू गर्न नसकिने भन्दै हिँड्नुभएको छ ।’

सांसद मल्लले सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानमा गम्भिर नभएको जिकिर पनि गरे ।