नक्कली शरणार्थी मुद्दामा ७ जना बाहेक पूर्वमन्त्रीद्वय खाँड र रायमाझीसहित सबै दोषी ठहर

दोषीहरुको सजाय निर्धारण अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्का इजलासको आदेश

फैसलामा खाँडलाई ठगी तथा संगठित अपराधको कसुरमा मतियार भएको ठहर गरिएको छ । यस्तै, रायमाझीलाई ठगी तथा संगठित अपराधको कसुर गरेको फैसलामा उल्लेख छ ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा ३० जना प्रतिवादी दोषी ठहर भएका छन् । आज काठमाडौं जिल्ला अदालतले फैसला सुनाएको हो ।

भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँड र टोपबहादुर रायमाझीलाई दोषी ठहर गरेको छ । फैसलामा खाँडलाई ठगी तथा संगठित अपराधको कसुरमा मतियार भएको ठहर गरिएको छ । यस्तै, रायमाझीलाई ठगी तथा संगठित अपराधको कसुर गरेको फैसलामा उल्लेख छ ।

२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री .टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । उनीहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको छ । प्रतिक थापा, सन्दिप रायमाझी, टंककुमार गुरुङ, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधरले सफाई पाएका हुन् । सफाई पाउने थापा पूर्व गृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष तथा एमाले संसदीय दलको नेता रामबहादुर थापका छोरा हुन भने रायमाझी पूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा हुन् ।

यस प्रकरणमा बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, बिचौलिया सानु भण्डारी र सन्देश शर्मा, मोहनराज राई, विनिता सावदेन लिम्बु, सागर राई, निरञ्जनकुमार खरेल, बिचौलिया हरिभक्त महर्जन, राजेश अर्याल, सुनिल बुढाथोकी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सजायँ सुनाएको छ ।

दोषीहरुको सजाय निर्धारण अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा उल्लेख छ ।