बैंकिङ समूहको उछालले नेप्सेमा हरियाली, कारोबार रकम ४ अर्ब ११ करोड रुपैयाँ

विज्ञापन
ncell

साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको छ ।

काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक बढेको छ ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २।०४ प्रतिशत बढेको छ । जसका कारण नेप्से परिसूचक बढ्न पुगेको हो । वित्त, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।  बुधबार भने ३ अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । 

आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ । 

 कारोबारमा आएको १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य सर्वाधिक १०.६० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४१ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को साढे ४० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ । बिहीबार कारोबारमा आएकामध्ये १०८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।