धितोपत्र बोर्ड अध्यक्ष भट्ट र एसबानका प्रतिनिधिबीच भेटर्वार्ता, पुँजी बजारलाई पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउनुपर्नेमा जोड
सरकारको बजेट, नीति-तथा कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुरूप पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गरिने छ ।
काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल एसबान) का प्रतिनिधिले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग भेटघाट गरेका छन् ।
भेटका क्रममा अध्यक्ष भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा लागिपर्ने बताएका छन् । सरकारको बजेट, नीति-तथा कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुरूप पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गरिने अध्यग भट्टले प्रतिबद्धता जनाए ।
पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गर्दै अध्ष्क्ष भट्टले बजारको पारदर्शिता, सुशासन, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउन धितोपत्र बोर्ड सक्रियतापूर्वक अघि बढ्ने दावी गरे ।
भेटका क्रममा एसबानका अध्यक्ष सागर ढकालले नेपालको पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत एवं संरचनागत सुधारका लागि नवनियुक्त अध्यक्ष भट्टको कार्याकाल अविस्मरणिय हुने अपेक्षा गरे । एसबानले सदैव रचनात्मक सुझाव, सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष ढकालले बजेटले पुँजी बजारको विकासका लागि तय गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पुँजी बजारको संस्थागत सुदृढीकरणका बोर्डका तर्फबाट सकारात्मक पहलको अपेक्षा गरिएको बताए ।
अध्यक्ष भट्टको नेतृत्वमा धितोपत्र बोर्डले पुँजी बजारको विकास र विस्तारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ सुदृढ बनाउने तथा नेपालको आर्थिक विकासमा पुँजी बजारको योगदानलाई थप प्रभावकारी बनाउने विश्वाससमेत एसबानले राखेको छ ।