पेट्रोल, डिजेल, ग्यास र हवाई इन्धनको मूल्य घट्यो, अब कति पर्छ ?

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार (असार १७) राति १२ः०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको निगमले जनाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो । यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पनि नयाँ मूल्य कायम गरेको जनाएको छ । 

नयाँ मूल्यअनुसार पहिलो वर्गका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १९४.५० रुपैयाँ, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १९२.५० रुपैयाँ, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर तोकिएको निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य घटेर आएको निगमले जनाएको छ । निगमले नयाँ मूल्य निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटरसम्मको दूरी भित्र लागू हुने गरी निर्धारण गरिएको जनाएको छ ।