प्राइम बैंकले ल्यायो १० वर्षे अवधिको ३ अर्ब रुपैयाँको ऋणपत्र, आजदेखि आवेदन दिन सकिने
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार ३० गते हुनेछ ।
काठमाडौं । प्राइम कमर्सियल बैंकले आज (असार १६ गते) देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ विक्री खुला गरेको हो ।
बैंकले एक हजार अंकित मूल्य राखेर ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । विक्रीमा ल्याएको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता संस्थागत रुपमा बाँडफाँट गरिनेछ भने ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार ३० गते हुनेछ । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक ६/६ महिना अर्थात् अर्धवार्षिक अवधि सकिएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकद्वारा जारी आह्वान पत्रमा उल्लेख छ
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । लगानीकर्ताले ऋणपत्रमा आवेदन भर्न आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ अनलाइन प्रयोग गर्न सक्नेछन्। ऋणपत्र निष्काशनका लागि बैंकले गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले केयरएनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग ए दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्दछ ।