‘खुट्टा भाँच्ने’ अभिव्यक्तिमा मन्त्रीको प्रष्टीकरण: कम्पनी जोगाउन र काम गराउन दबाब दिएको हुँ, धम्क्याएको होइन
मन्त्री लम्सालले निर्माण कम्पनी उठ्नै नसक्ने अवस्थामा नपुगोस् र ठेक्का रद्द गर्ने अप्रिय स्थिति नआओस् भन्नका लागि मात्रै आफूले दबाबमूलक शैली अपनाएको स्पष्ट पारे ।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिन सडक अनुगमनका क्रममा ठेकेदारलाई ‘खुट्टा भाँचिदिने’ भनी दिएको अभिव्यक्ति र प्रहरी लगाएर मन्त्रालयमा ल्याएको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसद ऐन महरले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले आफ्नो उद्देश्य ठेकेदारलाई थर्काउने वा गाली गर्ने नभई विकास निर्माणको कामलाई गति दिने मात्र रहेको दाबी गरे ।
मन्त्री लम्सालले निर्माण कम्पनी उठ्नै नसक्ने अवस्थामा नपुगोस् र ठेक्का रद्द गर्ने अप्रिय स्थिति नआओस् भन्नका लागि मात्रै आफूले दबाबमूलक शैली अपनाएको स्पष्ट पारे । काम समयमै नसकिए कानुन बमोजिम ठेक्का रद्द गर्नुको विकल्प नहुने र त्यसो हुँदा निर्माण व्यवसायीहरू ठूलो आर्थिक संकटमा फस्ने उनको तर्क थियो । "हामीले टेण्डर रद्द गर्यौँ भने बैंक ग्यारेन्टी जफत हुन्छ र बाँकी कामको क्षतिपूर्ति समेत असुलउपर गर्दा व्यवसायीहरूको सात पुस्तालाई असर पर्छ । त्यही भएर उहाँहरूलाई बचाउन र काम फत्ते गराउन मैले कडा निर्देशन दिएको हुँ," मन्त्री लम्सालले संसद्मा भने।
गत आइतबार नागढुंगा–मुग्लिन सडकखण्डको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले पोल हटाउन ढिलाइ गर्ने ठेकेदारप्रति आक्रामक हुँदै 'खुट्टा भाँच्दिनू' भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। सोही शैलीलाई लिएर चौतर्फी आलोचना भएपछि उनले संसद्मार्फत आफ्नो बचाउ गरेका हुन् । उनले व्यवसायीहरूले खुरुखुरु काम गरे सरकार चुप लागेर बस्ने भन्दै नितान्त काम गराउने र मुलुकको पूर्वाधार निर्माणलाई गति दिने 'इन्टेन्सन' (आशय) मात्र आफ्नो रहेको बताए ।
