बुटवल पावरद्वारा विश्व बैंकको सहयोगमा हरित हाइड्रोजन पाइलट परियोजनाको शुभारम्भ
उक्त पाइलट परियोजना बीपीसीद्धारा सञ्चालित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको छ।
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आज प्यूठानको दरिमचौरमा आफ्नो ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजनाको उद्घाटन गरेको छ । जुन भविष्यको स्वच्छ ऊर्जा समाधानको रूपमा नेपालको हरित हाइड्रोजनको प्रारम्भिक अन्वेषणमा एक महत्त्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
उक्त पाइलट परियोजना बीपीसीद्धारा सञ्चालित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको छ। यस परियोजनाले नवीकरणीय जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्दछ। यो परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयमार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।
परियोजनाको उद्घाटन समारोहमा लुम्बिनि प्रदेशका माननिय सांसद, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रतिनिधिहरू, प्यूठान जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू, एफसीडीओ, विश्व बैंक, प्रमुख जिल्ला अधिकारी, बीपीसी, नेविप्रा तथा नेपालको ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
हरित हाइड्रोजनलाई विश्वव्यापी रूपमा न्यून-कार्बन ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा हेरिएको छ। नवीकरणीय स्रोतबाट उत्पादित विजुलीे प्रयोग गरी पानीलाई विद्युत् अपघटन प्रक्रियामार्फत विभाजन गरेर हरित हाइड्रोजन उत्पादन गरिन्छ।
यसरी उत्पादन गरिएको हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण सहित प्रत्यक्ष विद्युतिकरण कठिन हुन सक्ने क्षेत्रहरुमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।
बीपीसीको पाइलट प्लान्टमा ५० किलोवाट क्षमताको क्षारीय इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ, जसले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्छ। उत्पादित हाइड्रोजनलाई १५० बार प्रेसरमा कम्प्रेस गरि सिलिण्डरहरूमा भण्डारण गरिनेछ, जसबाट विभिन्न सम्भावित प्रयोगहरूको परीक्षण तथा मूल्याङ्कन गर्न सकिनेछ।