रेमिट्यान्समा छलाङ: १० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब, वैशाखमा मात्रै साढे २ खर्ब माथि
नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको हो ।
काठमाडौं । नेपालमा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स ९विप्रेषण० आय उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स वृद्धि १३.३ प्रतिशत मात्रै रहेको थियो । २०८३ वैशाख महिनामा विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एव खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
चालू आवको दश महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।