कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक पक्राउ

प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा जुन प्रयोजनका लागि लिइएको थियो, सोही प्रयोजनभन्दा बाहिर प्रयोग गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको आरोप उनीमाथि छ ।

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी)ले राम जानकी हेल्थ फाउण्डेसनको सञ्चालक समितिको अध्यक्ष ओम प्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।  धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट उनलाई पक्राउ गरिएको सिआईबी ले जानकारी दिएको छ । अनुसन्धान अनुसार पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्रा.लि.’ नामक कागजी कम्पनी खडा गरी बिना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा धितोको अस्वाभाविक बढी मूल्यांकन गराई कर्जा लिएको पाइएको छ। प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा जुन प्रयोजनका लागि लिइएको थियो, सोही प्रयोजनभन्दा बाहिर प्रयोग गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको आरोप उनीमाथि छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा संलग्न रहेको भन्दै उनीविरुद्ध उच्च अदालत पाटन, ललितपुरले २०८२ साल मंसिर २८ गते पक्राउ अनुमति जारी गरेको थियो।

त्यही अनुमति आधारमा बुधबार उनलाई पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको सिआईबीले जानकारी दिएको छ ।