करिव ५५ लाखसहित नेपाल एअरलाईन्सका चालक पक्राउ, लगेजभित्र फलामको कराईमा लुकाएका थिए मुद्रा
विश्वासको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसासहित नेपाल एयरलाइन्सका कर्मचारी (सवारी चालक) पक्राउ परेका छन् ।
सुनसरी गढी गाउँपालिका(१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । विश्वासको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
सोमबार राति साढे ८ बजे बाटिक एयरको फ्लाइटमार्फत मलेसियाको क्वालालम्पुर जाने क्रममा विमानस्थल प्रहरीले चेकजाँच गर्दा विश्वासको लगेजमा फलामको कराई भित्र विभिन्न देशको मुद्रा भेटिएको हो । भिजिट भिसामा विदेश जान लागेका विश्वास १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र (ग्राउन्ड इक्युपमेन्ट अपरेटर) मा काम गर्दै आएको बताईएको छ ।
प्रहरीकाअनुसार अहिलेसम्म विश्वासले २६ पटक बाह्य मुलुलको यात्रा गरेका छन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।